कुनै परीक्षा दुईचोटि दिनुपरेन : विवेक घिमिरे

स्कुलमा प्रथम वा द्वितीय भइरहन्थेँ । एसएलसी पनि प्रथम श्रेणीमै उत्तीर्ण भएँ । यसकारण सानैदेखि म अध्ययनशील थिएँ । उच्च शिक्षाको सुरुवात विराटनगरको सिटी उच्च माविबाट भयो । कक्षा ११ मा पनि म प्रथम भएको थिएँ । स्नातक तह अध्ययनका लागि काठमाडौँ आएँ । मैले बिबिए पढेँ ।

त्यतिवेला यो एकदमै नयाँ संकाय थियो । मलाई बिबिए आधुनिक र समयसान्दर्भिक लाग्यो । प्रोफेसनल स्किल र व्यावहारिक ज्ञान दिने विषय मानिन्थ्यो । स्नातक पास गरेको ३–४ महिनामा मेरा करिब सबै साथी पेसा–व्यवसायमा आबद्ध भइसकेका थिए ।

विवेक घिमिरे शाखा अधिकृत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

स्नाकोत्तर तह अध्ययनका लागि भने कुनै पेसामा आबद्ध हुने र आफैँ खर्र्च व्यवस्थापन गर्ने सोँच बनाए । जागिरका लागि करिब दुई महिनाको अवधिमा ६ वटा ठाउँमा आवेदन दिएँ । सबै ठाउँमा एकै समयमा नतिजा आयो । सबैमा म पास भएँ । त्यसमध्ये एभरेष्ट बैंकमा काम गर्न थालेँ ।

राष्ट्र बैंक सपना थियो

मेरो परिवारका सबैजना निजामती सेवामा हुनुहुन्थ्यो । एभरेष्ट बैंकमा काम थाल्दा पनि बुबा खुसी हुनुहुन्नथ्यो । ‘पटक–पटक बैंकमा अल्झेको छ, निजामती सेवामा नाम निकाल्ने होइन’ भन्ने गर्नुहुन्थ्यो । जबकि म २१ बर्षको उमेरमा ४० देखि ४५ हजार कमाउँथे । ‘९० वर्षको हजुरबुबा हरेक भेटमा लोकसेवा पढ्न थालिस् ?’ भनेर प्रश्न गर्नुहुन्थ्यो ।

घरमा सबै सदस्यलाई जागिर भनेको सरकारी नै हो । सरकारी जागिरमा मान–सम्मान हुन्छ, स्थायित्व हुन्छ, पछि पेन्सन पाइन्छ भन्ने थियो । हजुरबुबा–हजुरआमाको प्रेरणा र बाबा–आमाको उत्प्रेरणाले लोकसेवाको तयारीमा जुटेँ । सँगै राष्ट्र बैंकको तयारी पनि गरिरहेको थिएँ ।

मभित्रचाहिँ राष्ट्र बैंकमै काम गर्ने इच्छा, चाहना थियो । कामकै सिलसिलामा हरेक दिन ६–७ घन्टासम्म अध्ययन गर्थें । पढ्दा फर्मुला बनाउँथे, ताकि सम्झिन सजिलो होस् । स्मरणका लागि रेकर्ड गरेर सुन्थेँ । लोकसेवा र राष्ट्र बैंकका लागि सँगै तयारी गरेँ ।

यसरी पढ्थेँ

अनलाइनबाट पाठ्यक्रमअनुसारका सन्दर्भसामग्री संकलन गरी अध्ययन गर्थें । करिब एक दर्जन अध्ययन सामग्री पनि संकलन गरेको थिएँ । काठमाडौं, शान्तिनगरमा दाजुभाइ–दिदीबहिनी गरी ६ जना बस्थ्यौँ । सबैजना लोकसेवाकै तयारीमा जुटेका थियौँ । तयारी गर्दा सामूहिक छलफल गथ्यौँ ।

पालैपालो जाँच लिने, कपी चेक गर्ने र कमी–कमजोरी पहिल्याएर सुधाथ्र्यौं । कहिलेकाहीँ त्यसरी लेखेको कपी लोकसेवा तयारी कक्षामा पढाउने शिक्षकलाई देखाउँथ्यौँ । र, शिक्षकको परामर्शअनुसार थप अध्ययन र सुधार गथ्र्यौं ।

एक्लै हुँदा बोलेर पढ्ने र त्यसको रेकर्ड पनि गर्थें । अल्छी लागेका वेला र घरको काममा व्यस्त हुँदा त्यही रेकर्ड गरेको कुरा सुनिरहन्थेँ । सुत्दा पढेका कुरा स्मरण गर्ने र मोबाइलमा भएका रेकर्ड सामग्री सुन्दै निदाउँथेँ ।

यसरी अध्ययन गर्दा पहिलो प्रयासमै मैले लोकसेवाबाट लेखापालमा नाम निकालेँ । हामी ६ जना नै एकै वर्ष निजामती सेवामा प्रवेश गर्न सफल भयौँ । राष्ट्र बैंकमा काम गर्ने मेरो सपना थियो । तर, त्यसअघि नै निजामती सेवाअन्तर्गत लेखापाल भइसकेको थिएँ ।

म लेखापाल छाडेर राष्ट्र बैंकमा जान चाहन्थेँ । परिवार र आफन्तले मलाई निजामती सेवामै रहन सुझाब दिनुभयो । मैले परिवारको सुझाबलाई कुल्चिन सकिनँ ।

एक्लै हुँदा बोलेर पढ्ने र त्यसको रेकर्ड पनि गर्थें । अल्छी लागेका वेला र घरको काममा व्यस्त हुँदा त्यही रेकर्ड गरेको कुरा सुनिरहन्थेँ । सुत्दा पढेका कुरा स्मरण गर्ने र मोबाइलमा भएका रेकर्ड सामग्री सुन्दै निदाउँथेँ ।

अधिकृत तयारीको अनुभव

विभिन्न जिल्लामा सरुवा हुँदै जाँदा मैले शाखा अधिकृतको तयारी गर्दै गएँ । कार्यालय समयभन्दा अघि र पछि बाँकी रहेको समय अधिकृतको तयारी गर्थें । साथीहरूसँग पढ्ने शैली बुझ्थेँ । प्रतिस्पर्धात्मक लेखनशैलीलाई बढी महत्व दिन्थेँ । त्यहीकारण पनि होला, आजसम्म कुनै पनि परीक्षा दुईचोटि दिनुपरेको छैन ।

लोकसेवामा जुनसुकै पेपरको हल गर्दा अन्य पेपरको तयारी गर्दाका ज्ञानलाई संगालेर उत्तर समृद्ध बनाउन सकिन्छ । जस्तैः सामान्यज्ञानको तथ्यांक, प्रमाण र उदाहरण अन्य पत्रको उत्तरमा जोडेर लेख्थेँ । समसामयिक कुरा अध्ययन गर्थें । परीक्षामा लेख्दा पनि ती कुरा सन्दर्भ मिल्दा घुसाउँथे ।

परीक्षा हलभित्र

सफा अक्षर लेख्न कोसिस गर्थें । लेखाइमा उचित शब्दको मात्र चयन गर्थें । वाक्यको मुख्य शब्दलाई फोकस गर्थें । एउटा उत्तरपछि पेन्सिलले लाइन तान्ने र चिटिक्क पार्ने काम गर्थें । यी सबैका लागि समय व्यवस्थापन अत्यन्तै महत्वपूर्ण हुन्छ ।

हरेक प्रश्नका लागि तोकिएको समयमा उत्तर दिइसक्नुपर्छ । समय सकिँदा उत्तर सकिएन भने त्यसलाई त्यही बिट मारेर अर्कोमा गइहाल्थेँ । बुँदागत लेखाइमा परिचय र सारांशसहित नै समय–सीमाभित्र भ्याइन्छ ।

किनकि लोकसेवाले तार्किक उत्तर खोज्छ । विश्वविद्यालयको जस्तो लामो उत्तर शैलीबाट लोकसेवा पास गर्न सकिँदैन भन्ने मेरो बुझाइ थियो ।

SHARE