विद्यार्थीहरु तरकारी खेतीमा

गाउँगाउँमा सञ्चालित प्राविधिक शिक्षामा आकर्षण
पाल्पा, मंसिर १५
स्वरोजगार सिर्जना गर्ने उद्देश्यले गाउँ गाउँमा सञ्चालनमा आएको प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको आकर्षण बढेको छ । कृषि, ईञ्जिनियरिङ, भेटनरी तथा जेटिए, अमिन विषयको पढाईमा विद्यार्थी आकर्षण बढेको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)बाट मान्यता प्राप्त गरी माध्यमिक तह सञ्चालन गरेका विद्यालयमा विद्यार्थीको आकर्षण छ । प्राविधिक शिक्षा सञ्चालनमा ल्याएपछि सर्वसुलभरुपमा घरमै बसेर विद्यार्थीलाई अध्ययन गर्न सहज भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाले उद्बुद्ध माध्यमिक विद्यालयमा कक्षा ९ देखी १२ कक्षासम्म कृषि विषय बढाउन सुरु गरेको छ । अहिले कक्षा ९ र १० मा कृषि विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी फलाएका छन् । घरबाट पढ्न गएका विद्यार्थीले गाउँमै तरकारी फलाएर बेच्न थालेपछि तरकारी किन्न बुटवलसम्म पुग्नुपर्ने अवस्थामा पनि कमी आएको छ । उद्बुद्ध माविमा कृषिको प्राविधिक शिक्षक सन्तोषलाल पाठकले कक्षा ९ मा ४२ जना र १० मा ३० जना विद्यार्थीलाई कृषि विषय पढाउँदै आएको बताए । उनी भन्छन्, ‘कृषि विषय पढ्दै यहाँ व्यवहारिक अभ्यासबाट तरकारी उत्पादन गरि बिक्रि वितरण पनि गर्दै आएका छौं ।’ २० हजार रुपैयाँको प्याजका बिरुवामात्र गाउँमा बिक्रि गरियो । सिमी, काउली, प्याज, लसुन, टमाटर लगाएका छौं । विद्यालय सञ्चालन गर्न केही पैसा समेत जोहो हुने गरेको छ, पाठकले भने, कृषि विषय अध्ययन गरेर विद्यार्थीहरुमा भविष्यमा उद्यमी वा व्यवसायी बनेर सहज रुपमा जिविकोपार्जन गर्न सक्छन् ।
उद्बुद्धमा कक्षा ९ मा अध्ययनरत कुसुम भट्टराईले कृषिमा धेरै अवसर रहेका कारण यो विषय अध्ययन गर्न लागेको बताईन् । उनी भन्छिन्, आजकल पढेर अरु जागिर गर्नुभन्दा कृषिमा व्यवसायिकरण गरेर देशमा समेत टेवा पु¥याउन सकिन्छ ।’ सदीक्षा न्यौपानेले आफ्ना बाबाआमाले कृषि परम्परागत तरिकाले गरेको देखेर यसलाई आधुनिकीकरण गर्न कृषि शिक्षा लिन आएको बताईन् ।
पाल्पा जिल्लामा लक्ष्मी माध्यमिक विद्यालय कृषि तथा वाली विज्ञान पढाउँदै आएको छ । यस्तै जनता माध्यमिक विद्यालयले सिभिल इञ्जिनियरिङ तथा तिनाउ माध्यमिक विद्यालय र प्रभाव माविले कृषि शिक्षा पढाउन सुरु गरेका छन् ।
पाल्पाकै रामपुर नगरपालिकामा अवस्थित रामतुलसी माविमा विगत तीन वर्षदेखि प्राविधिक धारअन्तर्गतको तीन वर्षे डिप्लोमा तहसम्मका लागि कृषि बाली विज्ञान पठनपाठन भैरहेको छ । रामतुलसीले कक्षा ९ देखि १२ सम्मका लागि पशु विज्ञान शिक्षा र दरैठाँटी माविमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ पठनपाठन सञ्चालनमा आएको छ । रामपुरबाट बुटवल, पोखरा, काठमाण्डौँ अध्ययनका लागि बाहिर जाने विद्यार्थीको क्रम अहिले न्यून अवस्थामा रहेको छ भने अन्यत्र ठाउँबाट रामपुरमा विद्यार्थी आउने क्रम बढ्दो रहेको छ । सस्तो शुल्कमै आफ्नै गाउँठाउँमै प्राविधिक विषय अध्यापन हुने भएकाले पनि प्राविधिक शिक्षाका लागि अधिकांश विद्यार्थी बाहिरी जिल्लाबाट आउने गरेको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । कृषि बाली विज्ञानका लागि ४० जना विद्यार्थीको मात्र सीमित कोटा रहेको रामतुलसी माविमा अहिले विद्यार्थी खोज्न भौँतारिनु पर्ने अवस्था नरहेको लम्सालले बताए । दरैठाँटी माविमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ शिक्षामा ४८ जना विद्यार्थी कोटा रहेको छ ।
घरमै बसेर स्वरोजगारमूलक शिक्षा आर्जन गर्न पाउँदा यस क्षेत्रका विद्यार्थी खुशी भएका छन् । गाउँ गाउँमै फरक फरकखालका प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा आएपछि अन्यत्र पढ्न जाने झन्झटबाट यहाँका विद्यार्थी मुक्त भएका छन् । अभिभावकलाई पनि आर्थिक भार कम परेको छ ।
प्राविधिक शिक्षा पढाउँदै आएका अभिभावक बिष्णुप्रसाद देवकोटाले छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको बताए । मुक्तिप्रसाद न्यौपाने

SHARE